पर्सामा ३९ किलोभन्दा बढी गाँजा जस्तो देखिने पदार्थ बरामद, ३ मोटरसाइकलसहित एक जना नियन्त्रणमा

समाचार

वीरगञ्ज,२४ साउन  । पर्सामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ३९ किलोभन्दा बढी गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग भएका तीन वटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका अनुसार मिति २०८३ साल साउन २३ गते राति ११ः५५ बजे विन्दवासिनी गाउँपालिका–४, मधवल क्षेत्रमा वि.ओ.पि. अमरपट्टी, वि.ओ.पि. प्रसौनीभाठा र प्रहरी चौकी अमरपट्टीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरिरहेको थियो।

सोही क्रममा इटियाहीबाट मधवलतर्फ आउँदै गरेका व्यक्तिहरूले प्रहरी टोलीलाई देखेपछि तीन वटा मोटरसाइकल र तीन वटा झोला झाडीमा फालेर भाग्ने प्रयास गरेका थिए। संयुक्त सुरक्षा टोलीले तत्काल खोजी तथा नियन्त्रणको प्रयास गर्दा एक जनालाई पक्राउ गर्न सफल भएको हो।

झाडीमा फालिएका तीन वटा झोला नियन्त्रणमा लिएर जाँच गर्दा ३९ किलो २५० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। साथै, घटनास्थलबाट तीन वटा मोटरसाइकलसमेत बरामद गरिएको छ।

नियन्त्रणमा लिइएका व्यक्ति, बरामद पदार्थ र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको छ।
घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *