काठमाडौं,५ भदौ । पेटभित्र लुकाएर सुनजस्तो देखिने धातु ल्याएका एक बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
फ्लाई दुबईको उडान नम्बर FZ1133 मार्फत २०८३ साल साउन ३१ गते बिहान १०ः३० बजे दुबईबाट काठमाडौं आएका ३५ वर्षीय MOHAMMAD RASEL HALDAR लाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार क्षेत्र पार गरी पार्किङ एरियातर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार सादा पोशाकमा खटिएको प्रहरी टोलीले शंका लागेर नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले करिब १५० ग्राम सुन लुकाएर ल्याएको स्वीकार गरेका थिए।
त्यसपछि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उनको Pelvic Area को एक्स–रे गर्दा पेटभित्र शंकास्पद धातु देखिएको थियो। तत्काल शौच गराउने प्रयास गरिए पनि उक्त वस्तु बाहिर ननिस्किएर पेटमै अड्किएको अवस्थामा रहेको पाइएको थियो।
स्वास्थ्यमा कुनै प्रतिकूल असर नदेखिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई पाँच दिन अस्पतालमा भर्ना गरेर निगरानीमा राखिएको थियो। आज २०८३ साल भदौ ५ गते शौच गर्ने क्रममा पेटबाट अन्दाजी १५० ग्राम तौलका सुनजस्तो देखिने पहेँलो क्याप्सुल आकारका दुईवटा धातुका वस्तु फेला परेका छन्।
पक्राउ परेका बंगलादेशी नागरिक HALDAR लाई थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।
घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका हुन्।
