वीरगञ्ज ,६ भदौ । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याइएका करिब ९४ लाख ९१ हजार ५ सय ८८ रुपैयाँ मूल्य बराबरका कस्मेटिक सामानसहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।
मिति २०८३ भदौ ५ गते बिहान करिब १० बजे वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०१–०३४ च ६९२८ नम्बरको टाटा योद्धा पिकअप रोकी जाँच गरेको थियो।
जाँचका क्रममा गाडीभित्र विभिन्न ब्राण्डका कस्मेटिक सामानका प्याकेट तथा कार्टुन फेला परेको प्रहरीले जनाएको छ। ती सामानका बाहिरी कार्टुनमा ‘दराज Online Shopping’ को होलोग्राम टाँसिएको भए पनि सामानको आवश्यक कागजात तथा प्रज्ञापनपत्र नभएको पाइएपछि प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिराहा, धनगढीमाई नगरपालिका–९ का ५० वर्षीय श्यामबहादुर स्याङतान रहेका छन्। उनलाई बरामद सामान र गाडीसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीका अनुसार बरामद सामानमा Mama Earth Face Wash ७४० पिस, MUUCHSTAC Ocean Face Wash ७२ पिस, Niacinamide Daily Face Serum २० पिस, Mama Earth Bright Sunscreen २९५ पिस, Chemist at Play २८ पिस, Mama Earth Baby ६९ पिस, Shadow ५८ पिस, Double Trouble १२ पिस, Hybrid Sunscreen ३५ पिस, Lip Stay १४ पिस, Bright and Even Cream ८ पिस, Mellow ९६ पिस, Minimalist Serum २०४ पिस, Derma ११ पिस, Pilgrim ५ पिस तथा विभिन्न ब्राण्डका अन्य कस्मेटिक सामानका १६ पोका रहेका छन्।
बरामद सामानसहित पिकअपको कुल अनुमानित मूल्य ९४ लाख ९१ हजार ५ सय ८८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
