वीरगञ्ज,६ भदौ । पर्साको विन्दवासिनी गाउँपालिका–२ स्थित ढोङ्गही खोलामा डुबेर बेपत्ता भएका एक पुरुषको शव सशस्त्र प्रहरीले फेला पारेको छ।
बुधबार साँझ करिब ६ः१५ बजे भैंसी चराउन गएका बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिर खोलामा डुबेर बेपत्ता भएको स्थानीयले जानकारी गराएपछि खोज तथा उद्धारका लागि सुरक्षा बेश पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मीको कमाण्डमा डीएम टोली खटिएको थियो।
त्यस्तै, इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा प्रहरी टोलीसमेत संयुक्त रूपमा खोजी तथा उद्धार कार्यमा परिचालन भएको थियो।
खोजीका क्रममा सशस्त्र प्रहरी टोलीले साँझ ७ बजे खोलामा डुबेको अवस्थामा राउतको शव फेला पारेको हो। शव फेला परेपछि आवश्यक मुचुल्का उठाई साँझ ७ः२० बजे पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
