पर्सा,८ भदौ । सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले पर्सामा ५ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला पर्साको छिपहरमाई गाउँपालिका–५, भिस्वा चेक प्वाइन्टमा आइतबार करिब १ः४५ बजे नेपालबाट भारततर्फ जाँदै गरेको BR05-S-5953 नम्बरको भारतीय मोटरसाइकललाई शंकास्पद रूपमा रोकी चेकजाँच गर्दा मोटरसाइकलको ट्यांकीमुनि लुकाइछिपाइ राखिएको अवस्थामा ५ किलो गाँजा फेला परेको हो।
पक्राउ पर्नेमा भारतको बिहार, पश्चिम चम्पारण जिल्ला, मझौलिया थाना निवासी ५० वर्षीय दिनेश महतो र ५२ वर्षीय छोटेलाल महतो रहेका छन्।
भिस्वा प्रहरी चौकी र सशस्त्र प्रहरी बल, नेपाल बीओपी भिस्वाबाट खटिएको संयुक्त टोलीले सवारीसाधन तथा पैदल यात्रुको चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
बरामद गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल तथा दुवै भारतीय नागरिकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
