वीरगञ्ज, फागुन ४ ।फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लाका विभिन्न मतदान स्थलहरूको स्थलगत निरीक्षण तथा अनुगमन कार्य तीव्र रूपमा अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा सोमबार जिल्लाका विभिन्न मतदान केन्द्रहरूको निरीक्षण तथा अनुगमन गरिएको हो।
अनुगमनका क्रममा मतदान स्थलहरूको भौतिक अवस्था, सुरक्षा व्यवस्थापन, मतदाता आवतजावतको सहजता, संवेदनशील क्षेत्रहरूको अवस्था तथा आवश्यक तयारीबारे विस्तृत रूपमा मूल्याङ्कन गरिएको थियो। निर्वाचनलाई निष्पक्ष, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा गर्न सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिइएको प्रशासनले जनाएको छ।
अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन आयोग पर्साका पदाधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरू पूर्ण रूपमा तयारी अवस्थामा रहेका छन्। संवेदनशील तथा अति संवेदनशील मतदान स्थलहरूमा विशेष सुरक्षा व्यवस्था मिलाइएको र नियमित रूपमा निरीक्षण तथा अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।
प्रशासनले मतदातालाई निर्धक्क भई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरेको छ।
