लागुऔषध संजालमाथि सशस्त्र प्रहरीको कडा प्रहार : भारत–नेपाल मैत्री बसबाट गाँजा बरामद, चालकसहित ४ जना पक्राउ

समाचार

वीरगञ्ज, ३ वैशाख ।
लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै सशस्त्र प्रहरी बल नेपालले पर्सामा ठूलो सफलता हासिल गरेको छ। भारत–नेपाल मैत्री बस सेवामार्फत ओसारपसार हुँदै आएको लागुऔषध गाँजा बरामद गर्दै बस चालकसहित चार जनालाई नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका प्रमुख एसपी मोहन बहादुर क्षेत्रीको निर्देशनमा सञ्चालन भइरहेको विशेष लागुऔषध नियन्त्रण अभियान अन्तर्गत सशस्त्र प्रहरी गुल्म वीरगञ्जका डिएसपी शम्भु कटुवालको नेतृत्वमा खटिएको टोलीले उक्त सफलता हासिल गरेको हो।

प्राप्त जानकारी अनुसार, मिति २०८३ साल वैशाख ३ गते बिहान करिब ०७:२५ बजेको समयमा वीरगञ्ज भन्सार कार्यालयको मूल गेट अगाडि नियमित चेकजाँचका क्रममा काठमाडौँबाट भारतको बोधगयातर्फ जाँदै गरेको BR 06PE2751 नम्बरको भारतीय बसलाई रोकी जाँच गरिएको थियो।

सप्रनानि अनिल कुमार ठाकुरको कमाण्डमा खटिएको ९ जनाको टोलीले ‘ड्रग्स डिटेक्सन’ तालिमप्राप्त ‘दृष्टि’ नामक पोथी कुकुरको सहायताले बसमा सूक्ष्म जाँच गर्दा हरियो, रातो र पहेँलो रङ्गको प्लास्टिकको जेब्रा झोलाभित्र लुकाइ राखिएको करिब २.८ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारेको हो।

बरामद गरिएको उक्त पदार्थ लागुऔषध गाँजा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सशस्त्र प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा बस चालकहरू रवि चौधरी र श्याम विश्वकर्मा तथा सहचालकहरू मुन्ना प्रसाद र अशोक विश्वकर्मालाई नियन्त्रणमा लिइएको छ। साथै, प्रयोग गरिएको बससमेत नियन्त्रणमा राखिएको छ।
सशस्त्र प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

पछिल्लो समय सीमा नाकाबाट हुने लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र जाँचलाई थप कडा बनाउँदै आएको छ। यसैक्रममा गरिएको सक्रियता र सतर्कताका कारण यस्ता अवैध क्रियाकलापमा संलग्न गिरोहहरूलाई निरन्तर रुपमा नियन्त्रणमा लिन सफलता मिलिरहेको सशस्त्र प्रहरीको भनाइ छ।

सशस्त्र प्रहरीले लागुऔषध विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने र यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *