सीमा सुरक्षामा कडाइ : सशस्त्र प्रहरीद्वारा बारामा १ करोडभन्दा बढीको अवैध सामान बरामद

समाचार

बारा, २ वैशाख । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराले सीमाबाट हुने अवैध चोरी पैठारी तथा अन्तर–सीमा अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ। गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विशाल सिलवालले कमाण्ड सम्हालेपछि सीमा सुरक्षामा कडाइ गरिँदै आएपछि तस्करी नियन्त्रण प्रभावकारी बनेको देखिएको हो।

गणपति सिलवालले जिम्मेवारी सम्हालेसँगै मातहतका सीमा सुरक्षा गुल्म हे.क्वा तथा बोर्डर आउट पोस्ट (बिओपी) हरूलाई अवैध तस्करी नियन्त्रणमा “शून्य सहनशीलता” अपनाउन स्पष्ट निर्देशन दिएका छन्। सोही निर्देशनअनुसार सीमा क्षेत्रमा कडा निगरानी र सक्रिय गस्ती परिचालन गरिएको छ।

गणबाट समेत वरिष्ठ अधिकृतको कमाण्डमा २४सै घण्टा खटिने गरी दुई वटा विशेष टोली परिचालन गरिएको छ। ती टोलीहरूले सीमावर्ती क्षेत्रमा छड्के जाँच, गस्ती तथा निगरानी तीव्र बनाउँदै चोरी पैठारी तथा तस्करी नियन्त्रणमा भूमिका निर्वाह गरिरहेका छन्।

सशस्त्र प्रहरीका अनुसार एसपी सिलवालको नेतृत्वमा हालसम्म १ करोड १२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका अवैध मालसामान बरामद गरी सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरिएको छ।

यसै क्रममा, मिति २०८३ वैशाख १ गते सीमा सुरक्षा गुल्म हे.क्वा मटिअर्वाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण पौडेलको कमाण्डमा खटिएको गस्ती टोलीले विभिन्न अवैध सामान बरामद गरेको छ। उक्त टोलीले कपडा, चकलेट, मोबाइल पार्ट्स तथा एयरपोड्ससहित अन्दाजी १४ लाख रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो।

बरामद सामानमध्ये कपडाको मूल्य करिब १ लाख, एयरपोड्स करिब १० लाख तथा स्निकर र चकलेट गरी करिब ३ लाख रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरी बल बाराका सूचना अधिकारी डीएसपी विक्रम मणि अधिकारीले जानकारी दिएका छन्।

स्थानीयवासीका अनुसार पछिल्लो समय सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै तस्करीका घटनामा उल्लेखनीय कमी आएको छ। “पहिलेको तुलनामा अहिले निकै कडाइ भएको छ, तस्करहरू पनि सतर्क भएका छन्,” एक स्थानीयले बताए।

गणपति सिलवालले सीमा सुरक्षालाई थप सुदृढ बनाउन आवश्यक स्रोत–साधनको परिचालन, नियमित अनुगमन तथा मातहतका युनिटहरूलाई स्पष्ट कार्यदिशा दिइरहेको जनाइएको छ। उनका अनुसार सीमा क्षेत्रमा हुने जुनसुकै प्रकारका अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी प्रतिबद्ध छ।

सशस्त्र प्रहरी बल बाराले आगामी दिनमा पनि सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउँदै अवैध तस्करी तथा अपराध नियन्त्रणमा निरन्तर सक्रिय रहने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *