पर्सामा ट्राफिक व्यवस्था चुस्त : निरीक्षक भट्टको नेतृत्वमा उत्कृष्ट प्रदर्शन, गण्डक एरियामा ओभरलोड नियन्त्रणमा कडाइ

समाचार

रसीद आलम

पर्सा, १७ साउन ।
जिल्ला ट्राफिक कार्यालय पर्साले पछिल्लो समय जिल्लाभर ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै उल्लेखनीय सफलता हासिल गरेको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक लोक राज भट्टको नेतृत्वमा ट्राफिक प्रहरीको सक्रियता, अनुशासन र इमान्दारिताको उच्च उदाहरण देखिएको छ।

प्रहरी निरीक्षक भट्टको कमान्डमा कार्यरत ट्राफिक टोलीले विभागीय मूल्य–मान्यता तथा माथिल्लो निकायको निर्देशन अनुसार काम गर्दै जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्त र व्यवस्थित बनाएको छ। भट्ट नेतृत्वको टिमले अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलनमा समेत उल्लेखनीय योगदान पुर्‍याएको छ। मधेश प्रदेशअन्तर्गतका आठवटै जिल्ला ट्राफिक कार्यालयहरूमध्ये वीरगंज पर्सा ट्राफिक कार्यालयले सबैभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो।

त्यसैगरी, कार्यसम्पादन सम्झौतामा उल्लेखित लक्ष्यहरू प्राप्त गर्दै ट्राफिक जनचेतनामूलक कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गरिएकाले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाद्वारा प्रहरी निरीक्षक लोक राज भट्टलाई असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घाेषणा गरिएको हो। यो उपलब्धिले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको समग्र प्रदर्शनमा उच्च सन्देश दिएको छ।

जिल्ला ट्राफिक कार्यालयअन्तर्गत पर्ने अस्थायी ट्राफिक प्रहरी पोष्ट गण्डकमा कार्यरत प्रहरी सहायक निरीक्षक गणेश प्रसाद यादवको नेतृत्वमा ट्राफिक ब्यवस्थापन झनै सराहनीय बनेको छ। वीरगंज–पथलैया सडकखण्डअन्तर्गतको गण्डक क्षेत्र एक अति व्यस्त र संवेदनशील ट्राफिक क्षेत्र हो। सो क्षेत्रलाई यादवको नेतृत्वमा ट्राफिक जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै, यात्रु तथा सवारी चालकहरूमा ट्राफिक नियम पालनाको भावना विकास गर्ने कार्य प्रभावकारी ढंगले भइरहेको छ।

प्रहरी सहायक निरीक्षक यादवले गण्डक एरियामा ओभरलोड नियन्त्रण अभियानलाई थप सशक्त बनाएका छन्। भूस लगायतका निर्माण सामग्री बोक्ने सवारी साधनहरूलाई पूर्ण रूपमा ओभरलोड नगर्न चेतावनी दिइएको छ। ढालाबिनाका गाडीहरूलाई तुरुन्त रोकेर तृपालले छोप्न बाध्य पारिएको छ। यस किसिमको उल्लंघन गरेमा आवश्यक कानुनी कारबाहीसमेत गरिएको जानकारी यादवले दिएका छन्।

यस किसिमको समन्वय, अनुशासन र प्रभावकारी कार्यशैलीका कारण पर्सा जिल्लाको ट्राफिक व्यवस्थापन अनुकरणीय बन्दै गएको छ। जिल्ला ट्राफिक कार्यालय पर्सा र यसअन्तर्गत कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको समर्पणले नागरिकको सुरक्षा, सहजीकरण तथा अनुशासनमा स्पष्ट सुधार देखिएको स्थानीयवासीहरूले बताएका छन्।

यसले न केवल ट्राफिक प्रणाली सुधारिएको छ, तर दुर्घटना न्यूनीकरण, सवारी आवागमनमा सहजता तथा ट्राफिक नियम पालनामा नागरिक सहभागितामा पनि सकारात्मक परिवर्तन ल्याएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *