रसीद आलम
बारा, १८ साउन ।
ट्राफिक नियमको कडाइ, जनचेतना अभियान र विद्यार्थीमाझ प्रभावकारी प्रशिक्षणमार्फत सडक सुरक्षालाई प्रभावकारी बनाउँदै आएका ट्राफिक प्रहरी बरिष्ठ नायब निरीक्षक अशोक बस्नेतलाई सम्मान गरिएको छ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जीतपुरसिमरा उपमहानगरपालिका-४, औराहा, बाराको आयोजनामा साउन १२ गते ट्राफिक प्रहरी पोष्ट, सिमरा, बाराका प्रमुख अशोक बस्नेतलाई विशेष सम्मानपत्र प्रदान गरिएको हो। विद्यालयको तर्फबाट आयोजित सम्मान कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका करिब २५० जना विद्यार्थी तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।
विद्यार्थीलाई व्यवहारिक ज्ञानमूलक ट्राफिक प्रशिक्षण
उक्त सम्मानपत्रमा उल्लेख गरिएअनुसार, बस्नेतले विद्यालयमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रभावकारी, रोचक र व्यवहारिक तरिकाबाट विद्यार्थीहरूलाई ट्राफिक नियम र सडक सुरक्षाका विषयमा प्रयोगात्मक प्रशिक्षण प्रदान गरेका थिए। उनको प्रशिक्षणबाट विद्यार्थीहरूमा ट्राफिक नियमको पालनाको आवश्यकता र महत्त्वबारे गहिरो समझदारी विकास भएको विद्यालयले जनाएको छ।
स्थानिय समुदायबाट उच्च प्रशंसा
स्थानीयबासीका अनुसार, अशोक बस्नेतले सिमरा क्षेत्रको ट्राफिक व्यवस्थालाई चुस्त-दुरुस्त बनाउनुका साथै नियमितरूपमा सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनामा जोड दिँदै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। ‘प्रहरी मेरो साथी’ भन्ने नारालाई व्यवहारमै उतार्ने खालका उनका क्रियाकलापले प्रहरीप्रतिको जनविश्वास बढ्न सहयोग पुर्याएको स्थानीयको धारणा छ।
सम्मानपत्रमा उल्लेख गरिएको सन्देश यस्तो थियो
“यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सडक सुरक्षा तथा ट्राफिक सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रममा तपाईले प्रभावकारी र रोचक तरिकाबाट व्यवहारिक ज्ञान र प्रयोगात्मक विधी बारे विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गर्नुभएकोले हार्दिक धन्यवाद सहित यो सम्मान पत्र प्रदान गरिएको छ। ‘प्रहरी मेरो साथी’ भन्ने उक्तिलाई व्यवहारतः लागू गर्ने तपाई जस्तो कर्मठ प्रहरीको सदा उन्नती, प्रगति र सुस्वास्थ्य तथा दीर्घजीवनको शुभकामना व्यक्त गर्दछौं।”

बस्नेतको नेतृत्वमा ट्राफिक प्रहरी पोष्ट, सिमराले निरन्तर ट्राफिक नियमको कडाइ, ओभरलोड नियन्त्रण, पार्किङ व्यवस्थापन, हेलमेट अभियान तथा सवारी चालक र पैदल यात्रुका लागि समेत जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
स्थानीय तहका विद्यालय, संघ-संस्था र सामुदायिक प्रतिनिधिहरूले ट्राफिक प्रहरीको यस्ता कार्यक्रमलाई सहयोग गर्दै लैजाने प्रतिबद्धता जनाएका छन्। सम्मानित भएपछि बस्नेतले आगामी दिनमा अझ जिम्मेवारीपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
