पर्साका एसपी मिश्रको लागु औषध कारोबारमा कडा प्रहार: ८ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

समाचार

रसीद आलम

बीरगंज, १७ साउन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको नेतृत्वमा लागु औषध नियन्त्रण अभियानलाई थप तीव्रता दिइएको छ। सोही अभियानअन्तर्गत आज बिहान ठूलो परिणाममा गाँजा बरामद गर्नुका साथै एक जना व्यक्तिलाई पक्राउ गरिएको छ।

मिति २०८२ साउन १७ गते बिहान करिब ७:१० बजे, जिल्ला पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ स्थित करबोला चोकमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको नियमित चेकजाँच टोलीले भारततर्फ जाँदै गरेको एक मोटरसाइकल रोकी तलासी लिएको थियो।

भारतको नम्बर प्लेट BR05AG 6805 रहेको उक्त मोटरसाइकलमा सवार व्यक्ति पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नं. ९, एकटांगा बस्ने ३४ वर्षीय जगमोहन यादव रहेको खुल्न आएको छ। चेकजाँचको क्रममा मोटरसाइकलको सिट मुनी र निजको शरीरमा बाँधिएको अवस्थामा ८ किलो ४४० ग्राम लागु औषध गाँजा फेला परेको थियो।

प्रहरीले उक्त लागु औषधसहित मोटरसाइकल र जगमोहन यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ। निज उपर लागू औषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।

पक्राउ परेको व्यक्ति:

  • नाम: जगमोहन यादव
  • उमेर: ३४ वर्ष
  • ठेगाना: पर्सा जिल्ला, पर्सागढी नगरपालिका–९, एकटांगा

बरामद सामग्रीहरू:

  • लागू औषध गाँजा: ८ केजी ४४० ग्राम
  • मोटरसाइकल: BR05AG 6805 नम्बरको भारतीय नम्बर प्लेट भएको

प्रहरी स्रोतका अनुसार, एसपी मिश्रको निर्देशनमा पछिल्ला दिनमा लागू औषध कारोबार नियन्त्रण गर्न विशेष सूचना संकलन, गस्ती, नाका निगरानी र निगरानी अभियानलाई प्राथमिकताका साथ संचालन गरिँदै आएको छ। प्रहरीले जनशक्ति परिचालनसँगै आधुनिक प्रविधिको समेत प्रयोग गरी लागु औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने अभियान जारी राखेको जनाएको छ।

यस प्रकारको कारबाहीले सीमावर्ती क्षेत्र हुँदै नेपाल भित्र्याइने लागू औषध कारोबारमा ठूलो अंकुश लाग्ने विश्वास लिइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध विरुद्धको संघर्षलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *