बारा, असोज १४ । बारा प्रहरीले ठूलो परिमाणमा लागूऔषध अफिमको चोपसहित श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ।
बुधबार दिउँसो करिब १ः०५ बजे जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकबाट रौतहट चन्द्रपुर नगरपालिका–३ गैँडाटारका ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी ४८ वर्षीया श्रीमती रोशनी राई पक्राउ परेका हुन्।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज, पर्सा र इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले सिमरा चोकमा शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा रोशनी राईको साथबाट प्लास्टिकले बेरिएका तीन पोका फेला परेका थिए। उक्त पदार्थ परीक्षण गर्दा अफिमको चोपजस्तो देखिएको र प्लास्टिकबाहेक तौल गर्दा २ किलो ९७० ग्राम रहेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
प्रहरीले बरामद पदार्थको थप परीक्षण तथा पक्राउ परेका व्यक्तिहरूको संलग्नता र लागूऔषधको स्रोतबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
