ब्राउन सुगरसहित पर्सामा एक जना पक्राउ

समाचार

वीरगञ्ज, ९ भदौ । पर्सामा प्रहरीले ८१ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

लागूऔषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका–१५ स्थित बाइपास सडकखण्डबाट उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार शंकास्पद रूपमा पैदल हिँडिरहेका व्यक्तिलाई रोकी चेकजाँच गर्दा उनले लगाएको सेतो पाइन्टको दाहिने खल्तीबाट प्लास्टिकसहित ९४ ग्राम ७२ मिलिग्राम र प्लास्टिकबाहेक ८१ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको थियो।
पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–६, बहुअरी प्रसौनीका ३९ वर्षीय अजय प्रसाद यादव रहेका छन्।

यादवको साथबाट बा.१८ च ९००३ नम्बरको सेतो कारको साँचोसमेत फेला परेपछि प्रहरीले वीरगञ्ज महानगरपालिका–८ मा रोकिराखेको उक्त कार पनि बरामद गरेको जनाएको छ।

बरामद लागूऔषध, कार र पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *