वीरगञ्ज, ९ भदौ । स्टाफ नर्समा नाम निकालिदिने भन्दै ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पीडितबाट रकम लिई स्टाफ नर्समा नाम निकालिदिने आश्वासन दिएको भन्ने सूचनाका आधारमा मिति २०८३ भदौ ८ गते साँझ करिब ५ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–८ बाट उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ घर भई हाल वीरगञ्ज महानगरपालिका–१५ मा डेरा गरी बस्दै आएका २७ वर्षीय रुपेश भन्ने कृष्णप्रसाद पटेल रहेका छन्।
पटेलले स्टाफ नर्समा नाम निकालिदिने प्रलोभन देखाई रु.५० हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पटेलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
