काठमाडौं, ९ भदौ । मोहम्मद जयन्तीको अवसरमा सरकारले नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार २०८३ साल भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेकोले उक्त दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिइएको हो।
मिति २०८२/११/१८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा दिने व्यवस्था रहेको र मुस्लिम आयोगबाट यस वर्ष भदौ १० गते मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएपछि बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
यसैबीच, मधेश प्रदेश सरकारले पनि भदौ १० गते बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा दिने निर्णय गरेको छ। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मंगलबार सूचना जारी गर्दै प्रदेशमा उक्त दिन मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा रहने जनाएको हो।
सरकारले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले र मधेश प्रदेश सरकारका प्रवक्ता राधेशंकर प्रसाद पालद्वारा जारी छुट्टाछुट्टै सूचनामार्फत बिदासम्बन्धी जानकारी सार्वजनिक गरिएको हो।
