वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

समाचार

वीरगञ्ज, भदौ १० । इस्लाम धर्मका अन्तिम सन्देशवाहक पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को जन्मोत्सव ईद–ए–मिलादुन्नबीको अवसरमा वीरगञ्जमा विशेष ‘सिरतुन नबी’ कार्यक्रम तथा शान्ति सभा सम्पन्न भएको छ।

वीरगञ्ज मुस्लिम समाजको आयोजनामा बुधबार आयोजित कार्यक्रममा मुस्लिम समुदायका अगुवा, धार्मिक गुरु, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

इस्लामिक क्यालेन्डरको तेस्रो महिना रबी–उल–अव्वलको १२औँ तारिखलाई मुस्लिम समुदायले पैगम्बर मोहम्मदको जन्मोत्सवका रूपमा ईद–ए–मिलादुन्नबीका रूपमा मनाउने गर्छन्।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, मौलाना अलियसगर मदनी, मौलाना महमद आलम, मौलाना इजहार हुसैनलगायतको सहभागिता थियो।

शान्ति सभालाई सम्बोधन गर्दै वक्ताहरूले पैगम्बर हजरत मोहम्मदले मानव समाजलाई दिएको शान्ति, प्रेम, सद्भाव, भाइचारा, सहिष्णुता र मानवताको सन्देशबारे चर्चा गरे। उनीहरूले धार्मिक तथा सामाजिक विविधताबीच आपसी सम्मान, एकता र सद्भाव कायम राख्नुपर्नेमा जोड दिए।

कार्यक्रमका सहभागीहरूले समाजमा धार्मिक सहिष्णुता र सामाजिक एकतालाई अझ बलियो बनाउँदै सबै समुदायबीच आपसी भाइचारा कायम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

आयोजकका अनुसार कार्यक्रम उत्साहजनक, शान्तिपूर्ण तथा सद्भावपूर्ण वातावरणमा सम्पन्न भएको छ। ईद–ए–मिलादुन्नबीको अवसरमा आयोजित कार्यक्रमले वीरगञ्जको धार्मिक तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने सन्देश दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *