काठमाडौं, भदौ १० — रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सरकारले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
गृहमन्त्री सुधन गुरुङले अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका भूभागलाई उच्च जोखिममा रहेको जनाउँदै रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी किनारमा बसोबास गर्ने परिवारलाई तत्काल सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन्।
बाढीका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोज तथा उद्धार आवश्यक परेमा वा कुनै प्रकारको सहायता आवश्यक भएमा टोल फ्री नम्बर १२३४ मा तुरुन्त सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
यसैबीच, सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न तथा आवतजावतमा पूर्ण रोक लगाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।
सरकारले नदीको जलस्तर तथा बाढीको अवस्था थप गम्भीर हुन सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई जोखिम नलिई सुरक्षित स्थानमा जान र प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ।
सम्भावित जोखिमबाट जोगिन नदी किनार, पुल तथा जोखिमयुक्त सडक क्षेत्रमा अनावश्यक आवतजावत नगर्न प्रशासनले विशेष अनुरोध गरेको छ।
