त्रिशूली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरीको आग्रह,एपीएफ कमाण्ड पोस्टको जिम्मेवारी एआईजी ठाडामगरलाई ।

समाचार

काठमाडौं, ११ भदौ । फुटेको हिमतालबाट पानीको बहाव पूर्ण रूपमा नखोलिएको र जुनसुकै बेला पानीको बहाव पुनः बढ्न सक्ने सम्भावना रहेको भन्दै सशस्त्र प्रहरी बल, नेपालले त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


सशस्त्र प्रहरीले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका घरपरिवारलाई सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचना तथा निर्देशनको अनिवार्य पालना गर्न अनुरोध गरेको हो।

विशेषगरी नदीमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रमा माछा मार्न, दाउरा टिप्न वा अन्य कुनै प्रयोजनका लागि नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरिएको छ।

सशस्त्र प्रहरीले विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धार तथा राहतका लागि विभिन्न जिल्लामा जनशक्ति तथा विशेषज्ञ टोली परिचालन गरेको जनाएको छ।

प्रभावित क्षेत्रको अवस्थाअनुसार उद्धार, स्वास्थ्य सेवा, हेलिकोप्टर तथा खोज–उद्धार, ड्रोन निगरानीलगायतका कार्यका लागि छुट्टाछुट्टै अधिकारीलाई जिम्मेवारी तोकिएको छ।

प्रधान कार्यालयअन्तर्गत एपीएफ कमाण्ड पोस्टको जिम्मेवारी एआईजी गणेशबहादुर ठाडामगरलाई दिइएको छ भने विपद् समन्वय तथा अपरेसनको जिम्मेवारी डीआईजी कृष्ण ढकाललाई तोकिएको छ। त्यस्तै प्रवक्तामा डीआईजी नेत्रबहादुर कार्की, एनडीआरआरएमए समन्वयमा एसएसपी रविनराज कर्णजित तथा एपीएफ अस्पतालतर्फ एसएसपी डा. मीना कुँवरलाई जिम्मेवारी दिइएको छ।


यसैगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ, पूर्वी तथा पश्चिम नवलपरासी लगायतका जिल्लामा समेत विपद् व्यवस्थापन तथा उद्धारका लागि सम्बन्धित अधिकारीहरू परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपालले विपद्को अवस्थामा आवश्यक उद्धार तथा समन्वयका लागि टोल फ्री नम्बर १११४ मा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सशस्त्र प्रहरीले सबै नागरिकलाई “सतर्क रहौँ, सुरक्षित रहौँ” भन्ने अपिल गर्दै जोखिमयुक्त नदी तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सुरक्षा निकायका निर्देशन पालना गर्न अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *