बारा, भदौ १० । बाराको सिम्रौनगढ नगरपालिका–३ नयकाटोलामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिम्रौनगढ–३ नयकाटोला निवासी रामईश्वर दासका ३२ वर्षीय छोरा विजय दास रहेका छन्। प्रहरीका अनुसार बुधबार साँझ करिब ५ बजे आफ्नै खेतमा मोटरबाट पानी निकाल्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका दासलाई उपचारका लागि सिम्रौनगढस्थित धर्मलाल क्लिनिकमा ल्याइएको थियो। तर, क्लिनिकका चिकित्सकले साँझ ५ः२० बजे उनलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार साँझ ७ः४५ बजे मुचुल्का पश्चात् मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
