नारायणी अस्पतालबाट नवजात शिशु अनधिकृत रूपमा लैजाने महिला पक्राउ

समाचार

वीरगञ्ज ,१५ भदौ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशुलाई खेलाउने बहाना बनाई अनधिकृत रूपमा लगेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा निवासी रन्जय दासकी श्रीमती करिब २७ वर्षीया रिन्कु देवीले २०८३ साल भदौ १३ गते राति करिब ११ बजे नारायणी अस्पतालमा शल्यक्रियामार्फत नवजात बालकलाई जन्म दिएकी थिइन्।

शिशु जन्मिएपछि सुत्केरीको कुरुवा बसेका आफन्तसँग खेलाउने बहाना बनाई एक महिलाले नवजात शिशुलाई अनधिकृत रूपमा साथमा लिएर गएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

सूचना प्राप्त भएलगत्तै पर्सा प्रहरीले विशेष टोली परिचालन गरी खोजी तथा अनुसन्धान अघि बढाएको थियो। प्रहरी टोलीले भदौ १५ गते दिउँसो करिब १ बजे चोरी भएको भनिएको नवजात शिशुलाई सकुशल फेला पारी आफन्तको जिम्मा लगाएको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–१६ निवासी आस महमदकी श्रीमती २७ वर्षीया सबिना खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकी खातुनमाथि थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *