रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानवीय उपस्थिति भेटिएन, सेना उद्धार टोली धुन्चे फर्कियो

समाचार

रसुवा,१५ भदौ  । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र गरिएको खोजी कार्यमा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका भएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो।

उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर विस्तृत खोजी गरेको थियो। सुरुङभित्र ड्रोनसमेत उडाएर निरीक्षण गर्दा पनि कुनै मानवीय उपस्थिति फेला नपरेको बताइएको छ।

सुरुङभित्र कोही पनि व्यक्ति नरहेको पुष्टि भएपछि खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली आयोजनास्थलबाट रसुवाको धुन्चे फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भोटेकोशीमा आएको बाढीपछि आयोजनामा कार्यरत केही व्यक्ति सुरुङभित्र फसेको हुनसक्ने आशंकामा उद्धार टोली परिचालन गरिएको थियो। लामो र जोखिमपूर्ण खोजीपछि सुरुङको अन्तिम भागसम्म पुग्दा समेत कोही नभेटिएपछि तत्कालका लागि उद्धार खोजी अभियान टुंगिएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *