वीरगञ्ज ,१५ भदौ । वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी गरी लगिएको घटनापछि प्रहरीले शंकास्पद एक महिलाको खोजतलास तीव्र पारेको छ।
प्रारम्भिक विवरणअनुसार भदौ १४ गते अपराह्न करिब ४ बजे अस्पतालमा रहेकी करिब ३० देखि ३५ वर्ष उमेरकी एक महिलाले आफन्तसँग शिशु खेलाउने बहाना बनाई नवजात शिशुलाई लिएर अस्पतालबाट बाहिरिएकी थिइन्। त्यसपछि उनी शिशुसहित सम्पर्कविहीन भएको बताइएको छ।
प्रहरीका अनुसार शंकास्पद महिला रातो कुर्ता–सुरुवाल लगाएकी र तराई मूलकी जस्तो देखिने छन्। घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले उनको पहिचान तथा सम्भावित स्थानबारे खोजी सुरु गरेको हो।
घटनाको अनुसन्धान अघि बढाउँदै प्रहरीले अस्पताल परिसर तथा आसपासका क्षेत्रका सम्भावित सीसीटीभी फुटेजसमेत अध्ययन गरिरहेको जनाएको छ।
प्रहरीले तस्बिरमा देखिएकी उक्त महिलालाई देख्ने, उनको अवस्थिति वा गतिविधिबारे कुनै जानकारी प्राप्त गर्ने व्यक्तिलाई तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराउन आग्रह गरेको छ।
नवजात शिशुको अवस्था र घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धानपछि थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।
