जन्मदिनको खुसी थाती राख्दै बाराका उद्योगी शम्भुनाथ झाले बाढीपीडितलाई दिए ११ लाख

समाचार

आफताब आलम, जीतपुर, बारा । भदौ १४ गते
आफ्नो जन्मदिनको अवसरलाई व्यक्तिगत उत्सवमा सीमित नगरी उद्योगी शम्भुनाथ झाले विपद्मा परेका नागरिकको सहयोगमा समर्पित गरेका छन्। नेपोभिट टायल्सका सञ्चालकसमेत रहेका झाले रसुवाका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

झाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। देश प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला बाढीपीडितको राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोडिएको उनकी पत्नी विभा झाले बताइन्।

विभाले सामाजिक सञ्जालमार्फत देश विपत्तिमा रहेका बेला व्यक्तिगत उत्सवभन्दा पीडित नागरिकको साथमा उभिनु महत्वपूर्ण रहेको उल्लेख गरेकी छन्। बाढीका कारण धेरै परिवार विस्थापित हुनुका साथै जनजीवन अस्तव्यस्त बनेको अवस्थामा आफ्नोतर्फबाट पीडितको दुःखमा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको उनको भनाइ छ।

उद्योगी झाको सहयोगको उद्योगी, व्यवसायी तथा स्थानीयस्तरमा प्रशंसा भएको छ। व्यक्तिगत खुसीलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विपत्तिमा परेका नागरिकका लागि ११ लाख रुपैयाँ सहयोग गर्नु अनुकरणीय कार्य भएको स्थानीयको भनाइ छ।

झाले बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरी नेपोभिट टायल्स उत्पादन गर्दै आएका छन्। देश संकटमा रहेका बेला उद्योगी झाले देखाएको सामाजिक उत्तरदायित्वले अन्य उद्योगी तथा व्यवसायीलाई समेत विपद्मा परेका नागरिकको सहयोगमा अघि बढ्न प्रेरणा दिएको छ।
जन्मदिनको खुसीभन्दा विपत्तिमा परेका नागरिकको पीडालाई प्राथमिकता दिँदै गरिएको झाको यो सहयोग सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण बनेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *