बिरगंज, १४ असार ।
पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनर्वा गाउँ र बारा बलिरामपुरको सिमानामा पर्ने पुल नजिकैबाट सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले सुनजस्तो देखिने धातुबाट निर्मित विभिन्न स्तुपहरू बरामद गरेको छ। ती सामानहरू नेपालबाट भारततर्फ अवैध रूपमा लैजाने क्रममा नियन्त्रणमा लिइएको हो।
बरामद गरिएका स्तुपहरू बौद्ध धर्मावलम्बीको धार्मिक आस्थासँग जोडिएका छन्, जसलाई अवैध रूपमा सीमा पार गराउने प्रयास भईरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार, उक्त सामानहरू काठमाडौंको ललितपुरस्थित ‘पाटन कल्पना हस्तकला उद्योग’बाट वीरगञ्ज निवासी तसि लामाको नाममा जारी गरिएको शंकास्पद बिल सहित भारततर्फ पठाइँदै थियो।
स्रोतका अनुसार, सामानको बजार मूल्य लाखौं रुपैयाँमा पर्ने अनुमान गरिएको छ। सो सम्बन्धमा गुल्म वीरगञ्जमा सम्पर्क गर्दा डिएसपी लोकेन्द्र सुब्बाले भने, “सामान नियन्त्रणमा लिइएको छ र अनुसन्धान जारी छ। यदि अवैध ठहर भएमा आवश्यक कानुनी कारबाही गरिनेछ।”
स्रोतका अनुसार, यस किसिमको धार्मिक तथा मूल्यवान सामग्रीको तस्करी रोक्न सिमा क्षेत्रमा थप निगरानी कडा पारिने तयारी गरिएको छ।
