पर्सा, असार १४ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको रु. ६,३९,६०० बराबरको विभिन्न सामानहरू बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
वीरगञ्ज महानगरपालिका–१ छप्कैयाबाट असार १३ शुक्रबार रु. ३,४०,८०० बराबरको कपडा र छोहडा लुकाइछिपाई ल्याएको अवस्थामा बरामद गरिएको हो। सो सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल बी.ओ.पी. सिर्सियाबाट खटिएको टोलीले सोही क्षेत्रको वीरगञ्ज–३ छपकैयाबाट रु. २,४२,००० बराबरको छालाको जुत्ता र त्यसमा प्रयोग भएको मोटरसाइकलसहित नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ।
यसैदिन, विशेष सूचनाका आधारमा डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले वी.म.न.पा.–१६ नगवा नयाँ बस्तीस्थित शिवम टोलमा रहेको रोहित प्रसाद कानुको घरमा भण्डारण गरिएको रु. ५६,८०० बराबरको चिनी, पुराना बोरा सिलाउने मेसिन र डिजिटल मेसिन समेत बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल पर्साले सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाउँदै आएको जानकारी दिएको छ।
