भैरहवा ,१६ भदौ । भारतबाट लागूऔषध खैरो हेरोइन खरिद गरी नेपाल भित्र्याएर लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहको निगरानीका क्रममा प्रहरीले १५८ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले २०८३ साल भदौ १५ गते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई शंकास्पद अवस्थामा फेला पारेको थियो।
प्रहरीका अनुसार उनीहरूलाई रोक्न खोज्दा मोटरसाइकल नरोकी भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप चार राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट १५८ ग्राम खैरो हेरोइन बरामद भएको हो।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, महाराजगञ्ज, सेखंलीका ३३ वर्षीय गिरिजेस श्रीवास्तव र निचलोनका २७ वर्षीय दिपक श्रीवास्तव रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १५८ ग्राम खैरो हेरोइन, दुई थान मोबाइल फोन र भारतीय नम्बर UP 56 AH 6189 को एउटा मोटरसाइकल बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा बुझाइएको छ।
घटनाबारे लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिएका हुन्।
