वीरगञ्ज, १७ भदौ । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका ८ वटा भारतीय इलेक्ट्रिक स्कुटर (EV) तथा ७२० किलो कफीका दाना बरामद गरेको छ।
प्रहरीका अनुसार २०८३ भदौ १६ गते दिउँसो करिब ४ बजे वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा भन्सार छली चोरी पैठारी गरी ल्याई अनधिकृत रूपमा सञ्चालनमा रहेका ८ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको हो। बरामद स्कुटरको अनुमानित मूल्य ६ लाख ४० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका स्कुटरहरू थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यस्तै, सोही दिन वीरगञ्ज महानगरपालिका–१५ स्थित लक्ष्मणवा चोक सडकखण्डको छेउबाट बेवारिसे अवस्थामा ७२० किलो कफीका दाना बरामद गरिएको प्रहरीले जनाएको छ। भन्सार छली चोरी पैठारी गरी ल्याइएको उक्त कफीको अनुमानित मूल्य २ लाख ५२ हजार रुपैयाँ रहेको छ।
बरामद कफीका दाना पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।
पर्सा प्रहरीले सीमा क्षेत्रमा हुने अवैध चोरी पैठारी तथा भन्सार छली नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय पर्सा प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताएका छन् ।
