१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार, एकको अवस्था जटिल

समाचार

काठमाडौं,१९ भदौ  । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मध्ये दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। कठिन र जोखिमपूर्ण परिस्थितिबीच गरिएको निरन्तर खोज तथा उद्धार अभियानबाट उनीहरूलाई आज बिहान जीवितै बाहिर निकालिएको हो।

उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने कबीर महर्जनको अवस्था जटिल रहेको जनाइएको छ। महर्जनलाई उपचारका लागि काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल लगेर सघन उपचार भइरहेको छ। साहलाई समेत थप स्वास्थ्य परीक्षणका लागि सोही अस्पताल ल्याइँदै छ।

बाढीपछि सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (APF), सम्बन्धित प्राविधिक तथा विज्ञ र सेन्ट्रल कमान्ड सेन्टरको समन्वयमा निरन्तर अभियान सञ्चालन हुँदै आएको थियो।

१० दिनसम्मको कठिन प्रयासपछि दुई जनाको जीवितै उद्धार हुनुले अझै पनि सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको खोजीमा आशाको किरण जीवितै रहेको संकेत गरेको छ। उद्धार टोलीहरू अहिले पनि आयोजनाका अन्य सुरुङहरूमा निरन्तर खोज तथा उद्धार कार्यमा खटिरहेका छन्।

गृहमन्त्री सुधन गुरुङले अत्यन्त कठिन र जोखिमपूर्ण परिस्थितिमा निरन्तर उद्धार कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्राविधिक, विज्ञ तथा सेन्ट्रल कमान्ड सेन्टरका सम्पूर्ण टोलीप्रति उच्च सम्मानसहित धन्यवाद व्यक्त गरेका छन्।

उनले उद्धार कार्यमा निरन्तर प्रयास र समन्वयका लागि सागर ढकाल र श्रीराम न्यौपानेप्रति समेत उच्च कदर व्यक्त गरेका छन्।

१० दिनपछि दुई जनाको जीवित उद्धारले विपद्को अँध्यारोबीच आशाको उज्यालो थपेको छ। उद्धार टोलीले बाँकी सुरुङहरूमा समेत खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *