चितवन ,२ असोज । अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (VOIP) सञ्चालनमा प्रयोग भइरहेको उपकरण तथा सामग्रीसहित चितवनको भरतपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले नेपाल टेलिकम तथा एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा भरतपुर महानगरपालिका–२, आँपटारीबाट भारतीय नागरिक २५ वर्षीय Kathram Nithin लाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार आँपटारीस्थित निर्मला विष्टको घरमा अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (VOIP) सञ्चालन भइरहेको सूचनाका आधारमा टोली परिचालन गरिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा बरामद उपकरण तथा सामग्रीहरू VOIP सञ्चालनमा प्रयोग भइरहेको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका Nithin को साथ तथा बसोबासस्थलबाट २६ थान मोबाइल सेट, २ थान ल्यापटप, ७७ थान एनसेल सिमकार्ड, १८ थान नेपाल टेलिकम (NTC) सिमकार्ड, ४ थान CPU, १ थान इन्भर्टर, २ थान ब्याट्री, २० पोर्टका ६ थान USB, ३३ थान USB Cellular Modem, ३० थान USB OTG to Audio Cable, ५ पोर्टको १ थान नेटवर्क स्विच, २ थान इन्टरनेट राउटर तथा विभिन्न प्रकारका डेटा केबल बरामद गरिएको छ।
प्रहरीले उक्त कार्य दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा (५) बमोजिमको कसूरअन्तर्गत पर्ने जनाएको छ।
पक्राउ परेका Nithin तथा बरामद सामग्रीका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनबाट थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिएका छन्।
