काठमाडौं, ३ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र निरन्तर सक्रिय नभए संविधान कागजमा सीमित हुने बताउनुभयो।
प्रधानमन्त्री शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य, विकास, समृद्धि, सामाजिक न्याय तथा समतामूलक समाज निर्माणको लक्ष्यप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्यलाई राष्ट्रिय जीवनका आधारका रूपमा उल्लेख गर्दै उहाँले संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो।
उहाँले भ्रष्टाचार र दण्डहीनताको अन्त्य, सुशासन तथा प्रशासनिक सुधारलाई सरकारको प्राथमिकतामा राखिएको बताउनुभयो। प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रियालाई सरकारले अघि बढाएको उहाँको भनाइ थियो।
‘यो सुरुवात हो, अन्त्य होइन’ भन्दै प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसविरुद्ध काम गर्ने हातहरू अझ बलिया र धेरै रहेको उल्लेख गर्नुभयो। उहाँले ‘सुशासन नारा होइन, काम हो’ भन्दै सरकार त्यसैअनुसार अघि बढिरहेको दाबी गर्नुभयो।
प्रधानमन्त्री शाहले आधुनिक प्रविधिको प्रयोगमार्फत सुशासनलाई थप प्रभावकारी बनाउने सरकारको योजना पनि सार्वजनिक गर्नुभयो। उहाँका अनुसार कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, साइबर सुरक्षा, नवप्रवर्तन र स्टार्टअपलाई प्राथमिकतामा राख्दै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिनेछ। डिजिटल सुशासन ब्लुप्रिन्टअनुसार राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणलाई त्यसको आधार बनाइने उहाँले बताउनुभयो।
‘युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौँ’ भन्दै प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हालैको रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। विपद् उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
नेपाल उच्च विपद् जोखिममा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद् आएपछि मात्र प्रतिक्रिया दिनेभन्दा जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिने नीति अघि बढाइने बताउनुभयो। विपद्को पूर्वसूचना प्रणालीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने उहाँको भनाइ थियो।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले संविधान जारी भएको दिन हरेक वर्ष आउने भए पनि संविधानको वास्तविक मर्म व्यवहारमा उतार्ने जिम्मेवारी राज्य र नागरिक सबैको भएको बताउनुभयो। इमानदार निर्णय, पारदर्शी नियुक्ति र नागरिकको घरदैलोमा पुग्ने सेवामार्फत संविधानको मर्म कार्यान्वयन गर्नुपर्ने उहाँको जोड थियो।
उहाँले अन्त्यमा भन्नुभयो, “शहीदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौँ।”
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभयो।
