काठमाडौं ,३ असोज । भन्सार छली चोरी पैठारी गरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भण्डारण तथा बिक्री–वितरण गर्दै आएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथ तथा गोदामबाट करिब ६२ लाख रुपैयाँ बराबरको हुक्काजन्य तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट भन्सार छली गरी विभिन्न किसिमका सामान ल्याई गोदाममा भण्डारण गरेर बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले २०८३ असोज १ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारेको थियो।
प्रहरीले सिन्धुली कमलामाई–९ घर भई हाल कपन बस्ने ३६ वर्षीय नवराज चौलागाईं, बुढानीलकण्ठ–१० कपनकी ३८ वर्षीया अस्मिता हुमागाईं र सिन्धुली कमलामाई–९ घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने ३८ वर्षीय जनक प्रसाद न्यौपानेलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार अस्मिता हुमागाईंको घर तथा उनले सञ्चालन गरेको लक्ष्मी सप्लायर्स, नवराज चौलागाईंको कोठा तथा जनक प्रसाद न्यौपानेको साथबाट ठूलो परिमाणमा हुक्का फ्लेभर, चारकोल, पेपर, प्रि–रोल्ड कोन, पेपर फिल्टरलगायतका सामग्री बरामद गरिएको छ।
बरामद सामग्रीमा AFZAL Double Apple, AFZAL Mint, AFZAL Icy Mint, AFZAL Panraas, AFZAL 1001 Night, AFZAL Mango Ice, AFZAL Mini, Magic Charcoal, COCOPO COAL, Rolling Good Times Paper, TRP Paper, OCB Virgin Paper, Pre-rolled Cones लगायत हुक्का तथा धूम्रपानजन्य सामग्री रहेका छन्। साथै विभिन्न ब्रान्डका चुरोटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले अस्मिता हुमागाईंको घरबाट AFZAL Double Apple ४० प्याकेट, Magic Charcoal ४८ प्याकेट, Rolling Good Time Lit Paper १०० प्याकेट तथा विभिन्न फ्लेभरका ठूलो परिमाणका सामग्री बरामद गरेको छ।
त्यस्तै, नवराज चौलागाईंको कोठाबाट AFZAL Mint ९५४ प्याकेट, Magic Charcoal ५२८ पिस, Rolling Good Times Lit Paper १५० प्याकेट, Panraas Flavour Tobacco १७६ प्याकेट लगायतका सामग्री बरामद गरिएको छ।
अस्मिता हुमागाईंले सञ्चालन गरेको लक्ष्मी सप्लायर्सबाट समेत AFZAL Double Apple ३५ बट्टा, Panraas AFZAL १०० बट्टा, AFZAL Mint ६०० बट्टा, 1001 Night Afzal ३५ बट्टा, Polo Charcoal १८६ बट्टा, Pre-cut Coils ४० बण्डल, TRP Slimmed Rolled Cones १९० प्याकेट, OCB Slim Virgin Papers ६८ प्याकेट, Lady Killer AFZAL ६४० प्याकेट, COCOPO Coil ५४० प्याकेट लगायतका सामग्री बरामद गरिएको छ।
यस्तै, जनक प्रसाद न्यौपानेको साथबाट COCOPOCO Premium 100% Natural Coconut Coal ८० प्याकेट, AFZAL Mini ३१ बट्टा, AFZAL 100/Nights १६ बट्टा, AFZAL Mango Ice ८ बट्टा, DR 420 Ultra Thin Paper ५५ थान र COB Virgin Paper २३ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सम्पूर्ण सामानको अनुमानित बिगो ६२ लाख रुपैयाँ रहेको छ।
पक्राउ परेका तीनै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले भन्सार छली गरी चोरी पैठारी गरिएका सामानको अवैध कारोबारविरुद्ध अनुसन्धान तथा कारबाही जारी रहेको जानकारी दिएका छन्।
