वीरगञ्ज, २५ वैशाख ।
पर्सामा बढ्दो लागुऔषध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले अभियानलाई तीव्र बनाएको छ । यही अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख एसपी मोहन बहादुर क्षेत्रीको निर्देशनमा सञ्चालन गरिएको विशेष निगरानीका क्रममा वीरगञ्ज भन्सार क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बलको वीरगञ्ज भन्सार गुल्मका डिएसपी विकास अधिकारीको नेतृत्वमा खटिएको टोलीले शुक्रबार साँझ ठूलो सफलता हात पारेको हो । मिति २०८३ वैशाख २५ गते साँझ करिब ५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित वीरगञ्ज भन्सार कार्यालयको मेनगेट अगाडि नियमित चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आइरहेको यात्रुवाहक अटोमा सवार दुई जनालाई शंकाको आधारमा नियन्त्रणमा लिई खानतलासी गर्दा लागुऔषध फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक नितेश कुमार शाह कानुको कमाण्डमा खटिएको ९ सदस्यीय टोलीले ‘दृष्टि’ नामक ड्रग्स डिटेक्सन तालिमप्राप्त पोथी कुकुरको सहयोगमा चेकजाँच गरेको थियो । सो क्रममा पक्राउ परेका व्यक्तिहरुको साथबाट करिब ५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ तथा ०.३४ मिलिग्राम सेतो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं.११ सिमलटार निवासी अन्दाजी २० वर्षीय सागर घिमिरे रहेका छन् । उनी होमनाथ घिमिरेका छोरा हुन् । त्यसैगरी सोही स्थानकी अन्दाजी २३ वर्षीया पूजा जिम्बा पनि पक्राउ परेकी छन् । उनी भिम बहादुर जिम्बाकी छोरी रहेको जनाइएको छ ।
बरामद लागुऔषधसहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लो समय भारत–नेपाल खुला सीमाको फाइदा उठाउँदै लागुऔषध ओसारपसार गर्ने गतिविधि बढ्न थालेपछि पर्सा जिल्लामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा निगरानी तथा चेकजाँचलाई कडा बनाएका छन् । विशेषगरी वीरगञ्ज भन्सार नाका, इनर्वा, रक्सौल आसपासका क्षेत्रमा दैनिक रूपमा यात्रुवाहक सवारी साधन, पैदल यात्री तथा शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाइएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
सशस्त्र प्रहरी बल पर्साले लागुऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै सीमावर्ती क्षेत्रमा नियमित चेकजाँच, गोप्य सूचनाको आधारमा अपरेशन तथा ड्रग्स डिटेक्सन डग परिचालनलाई निरन्तरता दिइने जनाएको छ ।
