वीरगञ्ज,२५ बैशाख । पर्सा क्षेत्र नम्बर–४ का सांसद टेकबहादुर शाक्य को विशेष पहलमा वर्षौंदेखि बन्द अवस्थामा रहेका पर्साका महत्वपूर्ण छोटी भन्सार कार्यालयहरू पुनः सञ्चालनतर्फ अग्रसर भएका छन्।
सांसद शाक्यले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने भिस्वा छोटी भन्सार र ठोरी छोटी भन्सार कार्यालय पुनः खुल्ने प्रक्रिया अघि बढेको बताएका हुन्। उनले उक्त भन्सारहरू सञ्चालनमा ल्याउन आवश्यक प्रशासनिक प्रक्रिया तथा पूर्वाधार निर्माणका लागि निरन्तर पहल भइरहेको उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “धेरै वर्षदेखि बन्द अवस्थामा रहेका भिस्वा छोटी भन्सार र ठोरी छोटी भन्सार कार्यालय खुल्ने जानकारी गराउँदा खुशी लागेको छ। आम जनताको जनजीविका सहजीकरणमा मेरो प्रयास निरन्तर रहनेछ। जनताको खुशी नै मेरो खुशी हो।”
सांसद शाक्यले आफू जनताको आशा, अपेक्षा र विश्वासलाई कहिल्यै झुक्न नदिने प्रतिबद्धता व्यक्त गर्दै सधैं जनताका सुझाव र सहयोगको अपेक्षामा रहने बताएका छन्।
स्रोतका अनुसार सांसद निर्वाचित भएको छोटो समयमै शाक्यले बन्द रहेका भन्सार पुनः सञ्चालनका लागि सम्बन्धित निकायसँग तीव्र समन्वय र पहल थालेका हुन्। लामो समयदेखि बन्द हुँदा स्थानीय व्यापार, आवतजावत तथा आर्थिक गतिविधिमा असर परेको थियो। अब पुनः सञ्चालनको तयारीसँगै सीमावर्ती क्षेत्रको व्यापारिक गतिविधि चलायमान हुने अपेक्षा गरिएको छ।
विशेषगरी ठोरी र भिस्वा क्षेत्रका स्थानीय बासिन्दाले भन्सार सञ्चालनलाई सकारात्मक उपलब्धिका रूपमा लिएका छन्। भन्सार सञ्चालनपछि स्थानीय व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना तथा राजस्व संकलनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
त्यसैगरी वर्षौंदेखि बन्द रहेको जन्किटोला भन्सारलाई समेत पुनः सञ्चालनमा ल्याउने दिशामा सांसद शाक्य सक्रिय रूपमा लागिपरेको स्रोतले जनाएको छ।
जनताको आवश्यकता र क्षेत्रीय विकासलाई केन्द्रमा राखेर अघि बढाइएको यो पहल पर्सावासीका लागि नयाँ आशा र उत्साहको विषय बनेको छ।
