बिलबिजकबिनाका ६३ थान मोबाइलसहित चितवनमा दुई जना पक्राउ, भन्सारबाट फिर्ता आएपछि थप कारबाहीको तयारी

समाचार

चितवन,१९ असोज  । चितवन प्रहरीले बिलबिजकबिना बिक्री–वितरण तथा ओसारपसार भइरहेको अवस्थामा ठूलो परिमाणमा मोबाइल फोन बरामद गरेको छ। प्रहरीले विभिन्न ब्रान्डका ६३ थान मोबाइल तथा १ थान आइप्याडसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०८३ असोज १८ गते साँझ करिब ६ बजे भरतपुर महानगरपालिका–१० स्थित हाकिमचोकमा बिलबिजकबिना मोबाइल बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीले भरतपुर–१० का ४१ वर्षीय दीपक प्रसाईंलाई नियन्त्रणमा लिएर वडा नं. १ र १० मा सञ्चालित दिपक मोबाइल पसलमा खानतलासी गर्दा बिलबिजक नभएका विभिन्न मोबाइल तथा आइप्याड बरामद गरेको जनाएको छ।

बरामद सामानमा Apple कम्पनीका विभिन्न सिरिजका ५० थान iPhone, Samsung का ४ थान, Redmi का २ थान, Apple को १ थान iPad र Vivo को १ थान मोबाइल रहेका छन्।

त्यसैगरी, सोही दिन साँझ करिब ७ बजे भरतपुर महानगरपालिका–१ रामनगरमा बिलबिजकबिना मोबाइल ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रामनगरबाट जुगेडी तर्फ जाँदै गरेका तनहुँ व्यास नगरपालिका–२ का २८ वर्षीय उमानन्द भुषाललाई नियन्त्रणमा लिएको थियो।

उनले बोकेको झोलामा खानतलासी गर्दा Apple कम्पनीका विभिन्न सिरिजका ५ थान iPhone बिलबिजकबिना फेला परेपछि प्रहरीले ती मोबाइल बरामद गरी भुषाललाई समेत पक्राउ गरेको थियो।

प्रहरीले दुवै जनालाई बरामद मोबाइलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाएको थियो। तर, भन्सार कार्यालयले मोबाइल बुझ्न नमानेपछि उनीहरूलाई पुनः चितवन फिर्ता ल्याइएको जनाइएको छ।

चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्रभूषण यादवका अनुसार पक्राउ परेका व्यक्तिलाई हाल आफन्तको जिम्मा लगाइएको छ। सम्बन्धित निकायसँग आवश्यक छलफल तथा सल्लाह गरी कानुनबमोजिम थप कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको उनले जानकारी दिए।

बिलबिजकबिना मोबाइल तथा विद्युतीय सामग्रीको कारोबार र ओसारपसारमाथि प्रहरीले निगरानी बढाएको जनाएको छ। बरामद मोबाइलको स्रोत, कारोबारको प्रकृति तथा आवश्यक कानुनी प्रक्रियाबारे थप अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *