वीरगञ्ज ,२० असोज । नेपालीहरूको महान् चाड बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण, मर्यादित, सौहार्दपूर्ण एवं उल्लासमय वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्सा प्रहरी प्रमुख एसपी पवन कुमार भट्टराईको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वको समयमा हुने अत्यधिक मानिसको आवतजावत, बजार तथा व्यापारिक क्षेत्रमा बढ्ने भीडभाड, सार्वजनिक यातायातमा हुने चाप, धार्मिक तथा सांस्कृतिक गतिविधि, किनमेल तथा आर्थिक कारोबारमा हुने वृद्धि लगायतका अवस्थालाई मध्यनजर गर्दै पर्सा प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था थप सुदृढ बनाएको हो।
विशेष सुरक्षा योजनाअन्तर्गत जिल्लाका संवेदनशील तथा भीडभाड हुने स्थानमा प्रहरी जनशक्ति परिचालन गरी नियमित गस्ती, निगरानी, चेकजाँच तथा सुरक्षा उपस्थिति बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
चाडपर्वको समयमा चोरी, लुटपाट, ठगी, झै–झगडा तथा अन्य आपराधिक गतिविधि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाएको छ। त्यसैगरी मादक तथा मनोद्दीपक पदार्थ सेवन गरी सवारी चलाउने, जुवातास खेल्ने तथा खेलाउने, अवैध आतसवाजी गर्ने, ठगी गर्ने र सार्वजनिक शान्तिमा खलल पुर्याउने गतिविधिमाथि विशेष निगरानी राखिने प्रहरीले जनाएको छ।
प्रहरीले चाडपर्व मनाउने क्रममा आफू र आफ्नो परिवारको सुरक्षामा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ। कुनै पनि शंकास्पद गतिविधि वा आपराधिक क्रियाकलाप देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिनसमेत प्रहरीले अपिल गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता/सूचना अधिकारी चक्र बहादुर मल्लले चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जानकारी दिए।
प्रहरीले **“सुरक्षित चाडपर्वः प्रहरी–नागरिक सहकार्य”**लाई प्राथमिकतामा राख्दै चाडपर्वका अवसरमा शान्ति सुरक्षा कायम गर्न प्रहरीसँगै नागरिकको पनि महत्वपूर्ण भूमिका रहने जनाएको छ।
पर्सा प्रहरीले सबै नागरिकलाई संयमित, जिम्मेवार र सुरक्षित ढंगले चाडपर्व मनाउन आग्रह गर्दै आपराधिक गतिविधि नियन्त्रण तथा सुरक्षित समाज निर्माणमा प्रहरीलाई आवश्यक सहयोग र सूचना उपलब्ध गराउन हार्दिक अपिल गरेको छ।
