वीरगञ्ज ,२० असोज । सशस्त्र प्रहरी बल पर्साले भन्सार छली तथा अवैध चोरी–पैठारी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीको नेतृत्वमा सीमाक्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गरिएसँगै भन्सार छली नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको सामान नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौ कोर्निया क्षेत्रबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको रु. ५ लाख ९ हजार बराबरको टेन्टको कपडा, दुईवटा मोटरसाइकल तथा मोबाइल फोन नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपालका अनुसार २०८३ साल असोज २० गते सीमा सुरक्षा गुल्म हेक्वा अलौबाट सशस्त्र प्रहरी नायब उपरीक्षक उत्तम बस्नेतको कमाण्डमा खटिएको टोलीले सीमाक्षेत्रमा निगरानी तथा चेकजाँच गर्ने क्रममा उक्त सामान नियन्त्रणमा लिएको हो।
भारतबाट अवैध रूपमा भन्सार छली गरी दुईवटा मोटरसाइकलमा विभिन्न सामान राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सुरक्षाकर्मीले शंकास्पद गतिविधि देखेपछि जाँच गरेको थियो। सो क्रममा ठूलो परिमाणमा टेन्टमा प्रयोग हुने कपडा तथा मोबाइल फोन फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रारम्भिक मूल्याङ्कनअनुसार बरामद सामान, मोटरसाइकल तथा मोबाइल फोनको कुल मूल्य रु. ५ लाख ९ हजार बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सीमाक्षेत्रमा हुने चोरी–पैठारी तथा भन्सार छलीका गतिविधिमाथि निगरानी बढाउँदै आएको सशस्त्र प्रहरीले बरामद गरेका सम्पूर्ण सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाएको छ।
पछिल्लो समय पर्साको भारतसँग जोडिएको खुला सीमाको विभिन्न क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी, गस्ती र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको छ। सीमा नाकाबाट हुने अवैध ओसारपसार, भन्सार छली तथा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै विशेष टोली परिचालन गर्नुका साथै संवेदनशील क्षेत्रहरूमा नियमित गस्तीसमेत बढाइएको सशस्त्र प्रहरीको भनाइ छ।
एसपी मोहन बहादुर क्षेत्रीको कमाण्डमा पर्सामा तस्करी नियन्त्रण अभियानलाई थप तीव्रता दिइएपछि सीमावर्ती क्षेत्रमा अवैध रूपमा सामान ओसारपसार गर्नेहरूमाथि निरन्तर कारबाही भइरहेको छ। पछिल्लो बरामदगीले समेत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सक्रिय निगरानी र तस्करीविरुद्धको अभियान प्रभावकारी बन्दै गएको देखाएको छ।
सशस्त्र प्रहरीले सीमा सुरक्षासँगै भन्सार छली, चोरी–पैठारी तथा अवैध कारोबार नियन्त्रणमा शून्य सहनशीलताको नीतिअनुसार कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
