ठोरी,२३ असोज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा पर्साको ठोरी गाउँपालिकामा नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। प्रहरी र नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउँदै स्थानीयका समस्या, गुनासा तथा सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
२०८३ असोज २३ गते बिहान करिब ९:४० बजे ठोरी गाउँपालिका–२ स्थित स्केटिङ भवनमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराई, जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण जंग थापालगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थी, स्थानीय बुद्धिजीवी, भद्रभलादमी र विभिन्न संघसंस्थाका प्रतिनिधिसहित करिब १५० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा नागरिक र प्रहरीबीच आपसी समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने, स्थानीयस्तरमा देखिएका समस्या र गुनासाबारे छलफल गर्ने तथा शान्ति सुरक्षा कायम गर्न नागरिकको भूमिका प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको थियो।
नागरिकका अपेक्षा, सुझाव तथा गुनासालाई प्रत्यक्ष रूपमा सुन्ने र प्रहरी सेवाप्रति जनविश्वास अभिवृद्धि गर्ने नागरिक सुनुवाइ कार्यक्रमले प्रहरी र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, प्रशासन, शैक्षिक क्षेत्र तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न कार्यक्रमले समुदायमा शान्ति सुरक्षा कायम गर्न सामूहिक जिम्मेवारी र सहकार्यको महत्त्वलाई उजागर गरेको छ।
