वीर अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै पर्सामा मनाइयो ७१औँ प्रहरी दिवस

समाचार

(वीर अमर प्रहरीका परिवार तथा ज्येष्ठ पूर्व प्रहरी सम्मानित, उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी पुरस्कृत)

वीरगञ्ज, ३१ असोज। ‘विपद्मा सारथी, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ पर्सामा ७१औँ प्रहरी दिवस–२०८३ विभिन्न कार्यक्रम गरी मनाइएको छ।

नेपाल प्रहरी प्रदेश कार्यालय, पर्सा र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा राष्ट्र र नागरिकको सेवामा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने वीर अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै अमर प्रहरीका परिवारजन, ज्येष्ठ पूर्व प्रहरी कर्मचारी तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय, पर्साका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराई, विभिन्न सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, पूर्व प्रहरी संगठनका अध्यक्ष तथा पूर्व प्रहरी कर्मचारी, नागरिक समाजका प्रतिनिधि, पत्रकार, समाजसेवी, अमर प्रहरीका परिवारजन र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा राष्ट्र र नागरिकको सेवामा आफ्नो जीवन बलिदान गर्ने अमर प्रहरीहरूको योगदानको स्मरण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि प्रमुख अतिथि दाहाललगायत उपस्थित अतिथिहरूले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सोनी न्हेम्हाफुकीले सञ्चालन गरेको कार्यक्रममा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले प्रहरी महानिरीक्षकको शुभकामना सन्देश वाचन गर्दै अमर प्रहरीप्रति सम्मान व्यक्त गरेका थिए।

कार्यक्रमका क्रममा अमर प्रहरीका परिवारजन तथा जिल्लाका ज्येष्ठ पूर्व प्रहरी कर्मचारीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यस्तै, अपराध अनुसन्धान तथा सचेतनामूलक गतिविधिमा निःस्वार्थ सहयोग र सहकार्य गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिहरूलाई जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भट्टराईले प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए।

यसैगरी, जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई प्रमुख जिल्ला अधिकारी दाहालले पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि दाहालले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रहरी दिवसको महत्त्व तथा प्रहरीको सेवाभावप्रति शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा नेपाल प्रहरी प्रदेश कार्यालय, पर्साका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूप्रति धन्यवाद ज्ञापन गरेका थिए। उनले नेपालीहरूको महान् पर्व विजयादशमी, शुभदीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै वीर अमर प्रहरीका परिवारजनसँग छलफल तथा अन्तरक्रियासमेत गरेका थिए।

वीर अमर प्रहरीको त्याग, बलिदान र योगदानको स्मरण गर्दै प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि, उत्कृष्ट कार्यको कदर तथा प्रहरी–नागरिक सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *