वीरगञ्ज,३१ असोज । बडादसैँको दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीको पावन अवसरमा वीरगञ्जस्थित भगवती श्री राधेमाई मन्दिरको प्राङ्गणमा परम्परागत धार्मिक विधिअनुसार भव्य रूपमा फूलपाती भित्र्याइएको छ।
प्रत्येक वर्षझैँ यस वर्ष पनि मन्दिरमा आयोजित धार्मिक अनुष्ठानमा भगवती श्री राधेमाईको डोलीसहित हजारौँ श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो। शास्त्रीय विधि र परम्पराअनुसार शुभ साइतमा फूलपाती भित्र्याइएको यस धार्मिक समारोहले दसैँको उल्लास र भक्तिमय वातावरणलाई थप उत्साहपूर्ण बनाएको थियो।
फूलपाती भित्र्याउने परम्पराले नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक पहिचान र मौलिक परम्पराको महत्त्वलाई उजागर गर्दै आएको छ। यस अवसरमा मन्दिर परिसरमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।
यसैबीच, पूर्वमन्त्री प्रदीप यादवले फूलपातीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
पूर्वमन्त्री यादवले भगवती श्री राधेमाईसँग सम्पूर्ण देशवासीको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै माता राधेमाईको असीम कृपा सबैमा रहिरहोस् र सम्पूर्ण भक्तजनहरूको मनोकामना पूरा होऊन् भन्ने प्रार्थना गरेका छन्।
फूलपातीको यस पावन अवसरले नेपालीहरूबीच आपसी सद्भाव, एकता, भाइचारा र धार्मिक सहिष्णुता अझ सुदृढ बनाओस् भन्ने कामनासहित पूर्वमन्त्री यादवले सबैमा सुख, शान्ति र समृद्धिको शुभेच्छा व्यक्त गरेका छन्।
