रसीद आलम,बारा,११ बैशाख।
बारा प्रहरीले १२ किलो लागू औषध गाजासहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा मातहतका इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट वरिष्ठ प्रहरी नायब निरीक्षकको पुज्य बिसीको कमान्डमा खटिएको टोलीले गाजासहित श्याम प्रजालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
गाँजा तस्करी भैरहेको सूचना पाएपछि वरिष्ठ प्रहरी नायब निरीक्षकको बिसीको कमान्डमा १२ किलो लागू औषध गाजासहित प्रजालाई पक्राउ गरेको र पक्राउ गर्न जंगलमा जाने क्रममा बिसीले बोकेको अटोमेटिक पेस्तोल हराएको बारा प्रहरीले जानकारी गराएको छ ।
पेस्तोलमा १० राउण्ड गोली रहेको र ड्युटीमा खटिएका समयमा वरिष्ठ सई बिसीको साथबाट हतियार हराएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले पुष्टि गरेका छन् ।
पेस्तोलको खोजीकार्य भइरहेको छ र सो सम्बन्धमा थप अनुसन्धान भैइरहेको डिएसपी न्यौपानेले जनाएका छन् ।
