बिरगंज ,२ कार्तिक।
पर्सा प्रहरीले ३० लाख बराबरको अवैध खाद्यान्न सहितको ट्रक नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा असोज ३० गते राति करिब १२:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोकमा ना.३ ख ५८३३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको छ।
ट्रकमा रहेको बिल विजकभन्दा बढीको खाद्यान्न तथा खुद्रा मालबस्तुहरू वीरगञ्जबाट काठमाडौँतर्फ लैजाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उक्त ट्रक नियन्त्रणमा लिएको हो।
ट्रकमा करिब ३० लाख रुपैयाँ बराबरको अवैध खाद्यान्न तथा मालबस्तु लोड रहेको थियो। थप अनुसन्धान तथा कारवाहीका लागि ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिएका छन्।
