रसीद आलम,बिरगंज, ८ मंसिर
नेपाली महिला यु-१९ क्रिकेट टोलीकी खेलाडी साना परवीनलाई नेपाली कांग्रेस पर्साले राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मान गरेको छ। विशेष रूपमा फाइनल खेलमा प्रभावशाली भूमिका निर्वाह गरेकाले कांग्रेसले उनको योगदानलाई कदर गरेको हो।
नेपाली कांग्रेसका नेता शहाबुद्दीन अन्सारीले परवीनलाई बिरगंजस्थित कांग्रेस पार्टी कार्यालयमा आमन्त्रण गरी सम्मान गरे। उनले परवीनको प्रदर्शनले देशभरि गर्वको अनुभूति गराएको बताउँदै, उनलाई नेपाली महिलाको प्रेरणाको स्रोतको रूपमा चित्रण गरे। साथै, परवीनलाई आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिए।
साना परवीनको सम्मानले नेपाली महिलाहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास नेपाली कांग्रेस पर्साले व्यक्त गरेको छ।
