वीरगञ्ज, १८ बैशाख । पर्सा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ। जबरजस्ती करणी तथा बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, मिति २०८३ वैशाख १८ गते बिहान करिब १०:०० बजे वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सर्लाही जिल्ला कौडेना गाउँपालिका वडा नं. ५ मोतीपुर निवासी २१ वर्षीय अरूण कुमार यादवलाई पक्राउ गरेको हो। उनी वारदातपछि फरार रही पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर क्षेत्रमा लुकिछिपी बस्दै आएका थिए। पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि सर्लाही जिल्ला अदालत पठाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यसैगरी, मिति २०८३ वैशाख १७ गते दिउँसो करिब ३:०० बजे फैसला कार्यान्वयन टोलीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ४७ वर्षीय राजेश कुमार गुप्तालाई पक्राउ गरेको छ। पर्सा जिल्ला अदालतको फैसलाअनुसार उनलाई १२ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकिएको थियो। गुप्ता वीरगञ्ज महानगरपालिका वडा नं. ८ क्षेत्रमा लुकिछिपी बस्दै आएका थिए।
पक्राउ परेका गुप्तालाई अदालतमा बुझाइसकिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार फरार अभियुक्तहरूको खोजी तथा नियन्त्रण कार्यलाई अझ प्रभावकारी बनाउँदै लगिएको छ।
