बिरगंज ,२१ मंसिर ।
पर्सा जिल्लाको बिरगंज महानगरपालिका-२५ स्थित खल्वा नाकाबाट सशस्त्र प्रहरी बल, बिओपी ड्राईपोर्टबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आइरहेको ना. १८ प ७०१५ नम्बरको होंडा साइन मोटरसाइकल जाँच गर्ने क्रममा शंकास्पद नगदसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
मोटरसाइकलमा सवार भारतको पूर्वी चम्पारण, पन्टोका ग्राम पंचायत-०१ भलुवाही निवासी ३७ वर्षीय विशेष्वर यादवको साथबाट स्रोत नखुलेको नेपाली नगद ८ लाख रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
ड्राईपोर्ट बिओपीका सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र प्रकाश मल्लको कमान्डमा बरामद गरिएको मोटरसाइकलको भन्सार मूल्य १ लाख ५० हजार रुपैयाँ तोकिएको छ। कुल ९ लाख ५० हजार रुपैयाँबराबरको सम्पत्ति नियन्त्रणमा लिई यादवसहित मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी, नायब उपरीक्षक विष्णु हरी घिमिरेले जानकारी दिएका छन्।
