बारा, २९ पुस ।बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगञ्ज चोकमा वीरगञ्जबाट रूपन्देही जाँदै गरेको प्र २-०३-००१ ख २८८८ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार बिहान करिब ७:३० बजे इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ट्रकमा बिल विजकभन्दा बढी सामानको स्रोत स्पष्ट नभएको पाइएको थियो।
करिब ७१ लाख ७४ हजार ५९१ रुपैयाँ बराबरको Ppwovenbag, औषधि, भान्साका भाँडाकुँडा, भ्याक्सिन तथा अन्य खुद्रा सामान ट्रकमा लोड गरिएको भेटिएको प्रहरीले जनाएको छ।
उक्त सामानसहित ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
