पर्सा, २२ जेठ। पर्सा प्रहरीले अवैध बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न दुई वटा ट्याक्टर, एक वटा जेसीबी र तीन जना चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बालुवा लोड गरिएको ना.५ त १७४५ र ना.७ त ४१८५ नम्बरका ट्याक्टर तथा प्रदेश २-०३-००१ क १३७४ नम्बरको जेसीबी नियन्त्रणमा लिएको हो।
उक्त सवारीसाधनहरू अवैध रूपमा बालुवा उत्खनन तथा ढुवानी कार्यमा प्रयोग भइरहेको अवस्थामा फेला परेपछि चालकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जना चालकमाथि आवश्यक अनुसन्धान भइरहेको छ।
प्रहरीले प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थको अवैध दोहन रोक्न जिल्लाभर निगरानी तथा अनुगमनलाई तीव्र बनाएको जनाएको छ। अवैध उत्खननले वातावरणीय सन्तुलनमा नकारात्मक असर पार्ने तथा नदी कटान, बाढी र भू–क्षयको जोखिम बढाउने भएकाले यस्ता गतिविधिविरुद्ध कडा कारबाही जारी रहने प्रहरीको चेतावनी छ।
पर्सा प्रहरीले प्राकृतिक सम्पदाको संरक्षण तथा अवैध उत्खनन नियन्त्रणका लागि स्थानीयवासीलाई समेत सचेत रहन र यस्ता गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचित गर्न आग्रह गरेको छ।
