नेपाल–भारत सीमामा संयुक्त फायर फाइटिङ अभ्यास, विपद् व्यवस्थापनमा सहकार्य थप मजबुत

समाचार

बारा, २२ जेठ ।नेपाल र भारतका सुरक्षा निकायबीच सीमा क्षेत्रमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन संयुक्त फायर फाइटिङ सिमुलेसन अभ्यास सम्पन्न गरिएको छ। उक्त अभ्यासले दुई देशका सुरक्षा संयन्त्रबीचको समन्वय, सहकार्य र कार्यदक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

बिहीबार बिहान बारा जिल्लाको सुवर्ण गाउँपालिका–३ सन्तगञ्ज तथा भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाको महुवा ग्राम पञ्चायत वडा नं. १ कटगेनवा नजिक रहेको मुख्य सीमा स्तम्भ नं. ३७६/२३ आसपासको दशगजा क्षेत्रमा संयुक्त अभ्यास सञ्चालन गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वा र भारतीय सशस्त्र सीमा बल (एसएसबी) 71st Battalion, B Coy Mahuawa को संयुक्त आयोजनामा सम्पन्न अभ्यासमा दुवै देशका १५/१५ जना गरी ३० जना सुरक्षाकर्मीको सक्रिय सहभागिता रहेको थियो।

गर्मी मौसमसँगै आगलागीका घटनामा वृद्धि हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै कृत्रिम आगलागीको अवस्था सिर्जना गरी आगो नियन्त्रण, उद्धार तथा समन्वय सम्बन्धी व्यवहारिक अभ्यास गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीले जानकारी दिए।
अभ्यास सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा सीमा सुरक्षा गुल्म मटिअर्वाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष अधिकारी तथा भारतीय सशस्त्र सीमा बलका एसआई ऋषभ सिंह रावतलगायत सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी सुवर्ण गाउँपालिका वडा नं. २ र ३ का वडा अध्यक्ष, स्थानीय जनप्रतिनिधि तथा करिब ४० देखि ५० जना स्थानीय बासिन्दाले पनि अभ्यासको अवलोकन गरेका थिए।

सुरक्षा अधिकारीहरूका अनुसार यस्ता संयुक्त अभ्यासले सीमा क्षेत्रमा हुन सक्ने विपद्, आगलागी तथा अन्य आपत्कालीन परिस्थितिमा दुवै देशका सुरक्षा निकायबीच द्रुत समन्वय कायम गरी जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाल–भारत सीमामा सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने दिशामा यो अभ्यासलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *