बारा, २२ जेठ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित त्रिवेणी स्पाइनिङ धागो फ्याक्ट्रीमा बिहीबार बिहान भीषण आगलागी भएको छ। विद्युत् तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको बारा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब १०ः४० बजे फ्याक्ट्रीमा अचानक आगलागी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमाण्डमा ६ जना, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादवको कमाण्डमा ४ जना तथा औद्योगिक सुरक्षा बेस सशस्त्र प्रहरी जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक एकवाल यादवको कमाण्डमा ५ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए।
आगो नियन्त्रणका लागि जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगञ्ज, वीरगञ्ज महानगरपालिका, कोल्हवी नगरपालिका, निजगढ नगरपालिका, गढीमाई नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका तथा नेपाली सेनाका विभिन्न गणहरूबाट परिचालित गरी कुल १२ वटा दमकल प्रयोग गरिएको थियो। स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा आगो दिउँसो करिब १२ः३० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी बल नं. १२ गण मुख्यालय बाराका सशस्त्र प्रहरी उपरीक्षक बिकाल सिल्वाल तथा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्री सहितको टोलीले उद्धार तथा आगो नियन्त्रण कार्यको नेतृत्व गरेका थिए।
आगलागीबाट फ्याक्ट्रीभित्र रहेको करिब १८० टन कपास, ५०×८० फिट आकारको आरसीसी वाल र टिनले छाएको गोदाम, २ थान कन्डेन्सर, १ थान एमबीओ (MBO) मेसिन र १ थान एमओ (MO) मेसिन जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
यद्यपि, आगलागीबाट भएको कुल आर्थिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको बारा प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
