पर्सा,६ माघ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे. क्वा. पर्साको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको टोलीले ६ लाखभन्दा बढी अवैध नेपाली रुपैयाँसहित एक मोटरसाइकल चालकलाई पक्राउ गरेको छ।
जिल्ला पर्सा, बीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित बीरगञ्ज भन्सार कार्यालयको मुख्य गेट अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बा ४१ प ८४९३ नम्बरको Hero Honda Glamour मोटरसाइकल र त्यसका चालकलाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको बडी र चालकको साथमा लुकाएर ल्याइएको अवस्थामा स्रोत नखुलेको नेपाली नगद रु. ६ लाख ५ हजार १ सय ८५ बरामद गरिएको हो।
पक्राउ परेका व्यक्ति भारतको पूर्वी चम्पारण जिल्ला, पन्टोका ग्राम पंचायत, वडा नं. १ भलुवाहा निवासी ३८ वर्षीय विशेश्वर यादव रहेका छन्।
बरामद सामानहरूमा नगद रु. ६,०५,१८५, मोटरसाइकलको मूल्य रु. २ लाख र मोबाइल फोनको मूल्य रु. २५ हजार गरी कुल रु. ८ लाख ३० हजार १ सय ८५ बराबर रहेको छ। पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
