कपिलवस्तु,६ माघ ।
कपिलवस्तु प्रहरीले स्रोत नखुलेको नगद पन्ध्र लाख सत्तरी हजार रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले माघ ३ गते कपिलवस्तुको मायादेवी गाउँपालिका-६, डुमरा चोकमा चेकजाँच गर्ने क्रममा मायादेवी गाउँपालिका-७, बसन्तपुरका ३० वर्षीय निरज कुमार मिश्रलाई पक्राउ गरेको हो।
मिश्र रातो रंगको महिलाको साइकलमा कालो झोला बोकी बर्रोहियाबाट तौलिहवा जाँदै थिए। प्रहरी टोलीले चेकजाँच गर्दा झोलाभित्र नेपाली रुपैयाँ १,००० दरका ८९० थान (कुल आठ लाख नब्बे हजार), ५,००० दरका १३२ थान (कुल छ लाख साठी हजार), १०० दरका १८० थान (कुल अठार हजार), र ५० दरका ४० थान (कुल दुई हजार) गरी जम्मा पन्ध्र लाख सत्तरी हजार रुपैयाँ बरामद गरेको छ।
प्रहरीले उनलाई हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर अन्तर्गत मुलुकी अपराध संहिता, २०७४ को दफा (क) अनुसार पक्राउ गरी जिल्ला अदालत कपिलवस्तुबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी मोहन मणि अधिकारीका अनुसार यो रकम अवैध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।
